नेपालको कर ऐनले पूँजीगत लाभको स्पष्ट परिभाषा नगरेको भए पनि सामान्यतया Capital Assets को बिक्रीबाट प्राप्त हुने नाफालाई पूँजीगत लाभ भनिन्छ। Capital Gain हुनका लागि सम्पत्तिको खरिद मूल्य भन्दा बिक्री मूल्य बढी हुनुपर्छ। यसरी खरिद मूल्यभन्दा बिक्री मूल्य बढी हुँदा प्राप्त हुने नाफामा पूँजीगत लाभ कर तिर्नुपर्ने व्यवस्था नेपालको कर ऐनले गरेको छ।
हामी यहाँ शेयर कारोबारमा तिर्नुपर्ने पूँजीगत लाभ करको बारेमा छलफल गर्नेछौं। हामीले खरिद गरेको मूल्यभन्दा बढी मूल्यमा शेयर बिक्री गर्छौं भने त्यस अवस्थामा हामीलाई नाफा प्राप्त हुन्छ। यसरी प्राप्त भएको नाफामा सरकारलाई पूँजीगत लाभ कर तिर्नुपर्छ। यस्तो कर रकम ब्रोकरले हामीलाई भुक्तानी दिँदा नै कटौती (deduct) गरेर राखेको हुन्छ।
यहाँ बुझ्नुपर्ने कुरा के हो भने पूँजीगत लाभ कर बिक्री रकममा होइन, केवल लाभ रकममा मात्र लाग्छ। प्राकृतिक व्यक्तिको हकमा शेयर बिक्रीबाट प्राप्त हुने नाफामा ५% का दरले पूँजीगत लाभ कर लाग्ने व्यवस्था नेपालको कर ऐनले गरेको छ।
पूँजीगत लाभको हिसाब निम्न सूत्रबाट निकाल्न सकिन्छ:
Capital Gain = बिक्री मूल्य - खरिद मूल्य - ब्रोकर कमिसन (बिक्री + खरिद) - सेबोन शुल्क
अर्थात् हामीले बिक्री गरेको शेयरको बिक्री मूल्यबाट खरिद मूल्य, ब्रोकर कमिसन तथा सेबोनलाई बुझाउनुपर्ने शुल्क घटाउँदा पूँजीगत नाफाको रकम आउँछ। यसरी आएको नाफाको ५% ले हुन आउने रकम पूँजीगत लाभ कर (Capital Gain Tax) को रूपमा सरकारलाई बुझाउनुपर्छ।
कतै हामीले तिर्नुपर्ने रकमभन्दा बढी रकम त ब्रोकरले करको नाममा चार्ज गरिरहेको छैन? एकपटक विचार गर्ने कि?




